देवानगञ्ज घटनामा कारबाहीको माग गर्दै मोरङ प्रशासनअघि प्रदर्शन

30 July, 2026 58 Views
देवानगञ्ज घटनामा कारबाहीको माग गर्दै मोरङ प्रशासनअघि प्रदर्शन
58

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरू ज्ञापनपत्र बुझाउन नाराबाजीसहित प्रशासन कार्यालय पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेपछि सुरक्षाकर्मीले ब्यारिकेड गरेर प्रदर्शनकारीलाई रोकेका थिए। प्रशासन कार्यालय परिसरमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।

देवानगञ्ज घटनामा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने अन्य केही घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ।

घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन्। त्यसपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले नौ वटा स्थानीय तहमा जारी गरेको कर्फ्यु बिहीबार पनि यथावत् राखेको छ। साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु अर्को सूचना जारी नभएसम्म कायम रहने प्रशासनले जनाएको छ।

Related Post