काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनापछि सरकारको भूमिकामाथि चौतर्फी प्रश्न उठ्न थालेको छ। छानबिन समिति गठन, कर्फ्यु आदेश र सुरक्षा व्यवस्था कडा पारिए पनि सुनसरीसहित मधेसका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ भने संसद् र राजनीतिक वृत्तबाट प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको सक्रिय भूमिकाको माग भइरहेको छ।
घटनापछि सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। तर, स्थानीयवासीले प्रधानमन्त्री वा गृहमन्त्री स्वयं घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्दै सुरक्षा र न्यायको प्रत्याभूति दिनुपर्ने माग गर्दै आएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले पछिल्लो सुरक्षा अवस्थाबारे सरकारको जवाफदेहिता माग गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीलाई प्रतिपक्षसँग संवाद गर्न आग्रह गर्दै संकटको अवस्थामा अनुभवी नेतृत्वसँग सहकार्य गर्नुपर्ने बताए। उनले संवादबाट नेतृत्वको कद नघट्ने उल्लेख गर्दै अहंकारका कारण संवादबाट टाढा रहनु दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद वासना थापाले एक नेपाली नागरिकको मृत्यु हुँदा प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै संकटका बेला नेतृत्वले जनतालाई सम्बोधन गर्नुपर्ने बताइन्। नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि सुनसरी घटनामा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै शान्ति–सुरक्षा कायम गर्न सरकार प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखिन्।
श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले देशमा हिंसात्मक घटना भइरहँदा सरकार बेखबर रहेको आरोप लगाए। उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्दै जनतामाझ पुग्नुपर्ने आवश्यकता औंल्याए। राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले घटनामा गोली चलाउने आदेश कसले दिएको भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।
यसअघि बुधबार रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा पनि सरकारको भूमिकामाथि प्रश्न उठाइएको थियो। बैठकमा सहभागी दलका नेताहरूले घटनाको यथार्थ सार्वजनिक गर्न, राजनीतिक संवादमार्फत समाधान खोज्न र सरकारलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
यसैबीच, प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनापछि विकसित सुरक्षा अवस्था, विभिन्न जिल्लाको परिस्थितिलगायत समसामयिक सुरक्षा विषयमा छलफल भइरहेको छ।
उता, देवानगञ्ज–कप्तानगञ्ज घटनामा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा बिहीबार मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको छ। घटनापछि सुनसरीसहित मधेसका विभिन्न जिल्लामा प्रदर्शन जारी छ भने केही स्थानमा कर्फ्यु र निषेधाज्ञा अझै कायम छ।