निर्मल पुर्जासहित दिवंगत आरोहीको शव उद्धार, टोली क्याम्प–१ झर्ने तयारीमा

02 August, 2026 1068 Views
निर्मल पुर्जासहित दिवंगत आरोहीको शव उद्धार, टोली क्याम्प–१ झर्ने तयारीमा
1068

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव उद्धारमा खटिएको टोली क्याम्प–१ तर्फ झर्ने तयारीमा रहेको छ।

उद्धार अभियानमा संलग्न ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा हिमपहिरोमा परेका दिवंगत आरोहीहरूको शव क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म सार्ने योजना बनाइएको छ।

टोलीका अनुसार मौसम अनुकूल रहे र हिमालको अवस्था सुरक्षित भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली तथा शवहरूलाई थप सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी सम्मानपूर्वक स्वदेश फर्काइने तयारी गरिएको छ।

गत बिहीबार (साउन १४) दिउँसो ब्रोड पिक क्षेत्रमा गएको भीषण हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। बेपत्तामध्ये ६ जना नेपाली पर्वतारोही रहेका छन्। पुर्जाको निधन भएको पुष्टि शनिबार भएको थियो। उनी उक्त आरोहण टोलीका नेता समेत थिए।

उद्धार कार्य कठिन हिमाली भू–भाग र प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बने पनि टोलीले निरन्तर अभियान सञ्चालन गरिरहेको जनाएको छ।

Related Post