प्रधानमन्त्री र गृहमन्त्री किन मौन? कांग्रेसकी वासना थापाले उठाइन् प्रश्न

30 July, 2026 48 Views
प्रधानमन्त्री र गृहमन्त्री किन मौन? कांग्रेसकी वासना थापाले उठाइन् प्रश्न
48

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति सरकारको भूमिका कमजोर रहेको दाबी गर्दै गम्भीर आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त घटनामा एक जनाको ज्यान गएको र धेरै नागरिक घाइते भएको उल्लेख गर्दै सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको दाबी गरिन्।

उनले घटनामा मृत्यु भएका ओमप्रकाश गुप्ताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्। यति गम्भीर घटना हुँदा पनि सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको उनको जिकिर थियो।

प्रमुख सचेतक थापाले प्रधानमन्त्री र गृहमन्त्री दुवैको मौनतामाथि पनि प्रश्न उठाइन्। नागरिकको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषयमा सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरूबाट कुनै स्पष्ट धारणा नआउनु दुःखद रहेको जिकिर गर्दै उनले नेतृत्वले संवेदनशीलता र जवाफदेहिता देखाउनुपर्ने बताइन्।

'एक जना नागरिकको ज्यान गएको छ, दर्जनौँ घाइते भएका छन्। यति गम्भीर घटना हुँदा पनि सरकार किन मौन छ? सरकारको ध्यान आखिर कहाँ छ?' भन्दै थापाले प्रश्न उठाइन्।

उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरिन्।

Related Post