पेट्रोलियम पदार्थको मूल्य अब घट्नेवाला छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

29 June, 2026 163 Views
पेट्रोलियम पदार्थको मूल्य अब घट्नेवाला छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
163
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निकट भविष्यमै नेपाली बजारमा डिजेल, पेट्रोल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य घट्ने दाबी गरेका छन्।आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल को मूल्य घटिसकेकाले नेपाली उपभोक्ताले छिट्टै राहत पाउने स्पष्ट पारेका हुन्। 
मध्यपूर्व  मा केही समययता देखिएको भू-राजनीतिक तनाव र द्वन्द्व बिस्तारै सामान्य बन्दै गएपछि विश्व बजारमा इन्धनको मूल्य ओरालो लाग्न सुरु भएको उनले संसदमा जानकारी गराए।
सरकारले उपभोक्ताको भार कम गर्न कर नीतिमा अस्थायी सहुलियत दिँदै आफ्नो कार्यकालको सुरुवातमै भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइसकेको समेत अर्थमन्त्रीले स्मरण गराए।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालले भारतीय आयल निगम (IOC) मार्फत प्रशोधित इन्धन आयात गर्ने भएकाले नेपाली बजारमा मूल्य 'एडजस्ट' हुन केही दिन ‘टाइम ल्याग’ हुने वाग्लेको भनाइ छ।
भारतीय पक्षबाट नयाँ मूल्य सूची प्राप्त भई प्रक्रियागत समायोजन हुन थोरै समय लागे पनि पेट्रोलियम पदार्थको मूल्य अब घट्ने अवस्था मा आइसकेको भन्दै उनले आम सर्वसाधारणलाई आश्वस्त पारेका छन्।

Related Post