काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यमा तत्काल मनोनयन नगर्ने बताएका छन्। बुधबार बसेको केन्द्रीय समितिको बैठकमा उनले मनोनयन प्रक्रियामा हतार नगर्ने स्पष्ट पार्दै प्रस्तावित नामहरूको पृष्ठभूमि, क्षमता र योगदानको अध्ययनपछि मात्रै निर्णय लिने बताएका हुन्।
रास्वपाको संशोधित विधानअनुसार सभापतिलाई १२ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार छ। हालै सम्पन्न महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री निर्वाचित भइसकेका छन् भने बाँकी पदहरू अझै रिक्त छन्।
केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनयन गर्ने सभापति लामिछानेको प्रस्ताव अनुमोदन गरेको छ। यद्यपि वरिष्ठ नेताबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयनबारे बैठकमा कुनै औपचारिक छलफल नभएको बताइएको छ।
सभापति लामिछानेले योग्य र सक्षम व्यक्तिलाई मात्रै जिम्मेवारी दिने उद्देश्यले सबै नाममाथि आवश्यक अध्ययन र मूल्यांकनपछि निर्णय हुने बताएका छन्। पार्टीभित्र बालेन समूहबाट आएका नेताहरूलाई पनि नेतृत्व संरचनामा समेट्ने तयारी भइरहेका कारण मनोनयन प्रक्रिया केही समय लम्बिएको बुझिएको छ।
बालेन समूहका सुनील लम्साल, भूपदेव शाह तथा प्रतिभा रावलसहित केही नेताहरूलाई केन्द्रीय सदस्य वा पदाधिकारीमा मनोनयन गर्ने चर्चा भए पनि यसबारे अन्तिम निर्णय हुन बाँकी छ। बालेन समूहबाट एकता प्रक्रियामार्फत आएका अन्य नेताहरू पनि सभापतिको मनोनयनको प्रतीक्षामा रहेका छन्।