शान्ति सुरक्षा र सद्भाव कायम गर्न राज्य असफलः एमाले

30 July, 2026 46 Views
शान्ति सुरक्षा र सद्भाव कायम गर्न राज्य असफलः एमाले
46

काठमाडौं । नेकपा एमालेले सुनसरीको देवानगञ्ज गोलीकाण्ड र त्यसपछि उत्पन्न तनावप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार शान्ति सुरक्षा कायम गर्न र दंगा नियन्त्रण गर्न प्रभावकारी बन्न नसकेको आरोप लगाइन्।

अर्यालले सबै सरोकारवाला, धार्मिक अभियन्ता तथा स्थानीयलाई धैर्य र संयमता अपनाउन आग्रह गर्दै उत्तेजना, आबेग र प्रतिशोधबाट टाढा रहन सबै पक्षलाई आह्वान गरिन्। उनले शान्ति र सद्भाव कायम राख्न सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको सन्दर्भमा उनले विगतमा यस्तै घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नेहरूले अहिले पनि त्यही नैतिक मापदण्ड अपनाउने कि नअपनाउने भन्ने प्रश्न उठाइन्। अर्यालले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राख्दै देशमा तनावपूर्ण अवस्था भइरहँदा प्रधानमन्त्री जनतामाझ नदेखिएको टिप्पणी गरिन्।

उनले प्रधानमन्त्रीको जिम्मेवारी संकटका बेला जनतासँगै उभिने र सुरक्षा तथा विश्वासको वातावरण बनाउने भएको उल्लेख गर्दै सरकार प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने बताइन्। विगतका टीकापुर, गौर र नेपालगञ्जजस्ता घटनाको स्मरण गर्दै उनले यस्ता संवेदनशील घटनामा सबै पक्षले समान दृष्टिकोण अपनाएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

अर्यालले सरकारले जनतामा आशा र विश्वास जगाउने योजना तथा प्रभावकारी कदम अघि सारे एमालेले पनि शान्ति, सुरक्षा र मुलुकको हितका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको बताइन्।

 
 
 
 
 
 
 

Related Post