काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अफ्साना बानुले बल प्रयोग गरेर मुलुकमा शान्ति स्थापना गर्न नसकिने बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पछिल्लो समय बारम्बार गोली चलाउने घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै यस्तो कार्यले परिस्थिति थप जटिल बन्ने धारणा राखिन्।
उनले गोली प्रहार कुनै पनि समस्याको समाधान हुन नसक्ने उल्लेख गर्दै यस्ता घटनाले समाजमा अशान्ति र तनाव बढाउने बताइन्। उनका अनुसार संवाद, समझदारी र अन्य वैकल्पिक उपायमार्फत विवाद समाधान गर्न सकिन्छ।
सांसद बानुले सुरक्षा निकाय र प्रशासनलाई सामाजिक चेतना अभिवृद्धिमा जोड दिन आग्रह गर्दै नागरिकसँग संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताइन्।
उनले आफूहरूलाई संसदमा पुर्याउने मतदाताले धर्म वा जातिका आधारमा नभई योग्य प्रतिनिधिको रूपमा विश्वास गरेर मतदान गरेको उल्लेख गरिन्। नेपाली जनताले देशको भविष्य, विकास र समृद्धिको अपेक्षासहित निर्वाचित गराएको भन्दै सबैले धार्मिक र जातीय विभाजनभन्दा माथि उठेर राष्ट्रिय हितमा काम गर्नुपर्नेमा उनले जोड दिइन्।