काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा हिजो बसमा भएको आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ। ऋद्धिसिद्धि यातायातको बसमा मध्यान्ह आगलागी हुँदा चालकको शरीरको ठूलो भाग जलेको थियो। सुरक्षाकर्मी र स्थानीयले उनलाई उद्धार गरी कीर्तिपुर अस्पतालस्थित बर्न अस्पताल पुर्याएका थिए।
उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन्। प्रहरीका अनुसार मृतकको नाम र ठेगाना भने खुल्न बाँकी छ। यसअघि उनको साथमा भेटिएको लाइसेन्सका आधारमा प्रहरीले चालकको नाम दावा लामा भएको जनाएको थियो।
तर, लाइसेन्समा उल्लेखित दावा लामाले आफू सकुशल रहेको र उक्त लाइसेन्स आफ्नो भएको बताएपछि मृतक चालकले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।