त्रिपुरेश्वर बस आगलागी : मृत चालकको पहिचान खुल्यो

त्रिपुरेश्वर बस आगलागी : मृत चालकको पहिचान खुल्यो
14

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा हिजो बसमा भएको आगलागीमा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको प्रहरीले जनाएको छ।

ऋद्धिसिद्धि यातायातको बसमा मध्यान्ह आगलागी हुँदा अर्जुनको शरीरको ठूलो भाग जलेको थियो। सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार घटनापछि अर्जुनको साथबाट दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र भेटिएको थियो। तर, लाइसेन्सधारी दावा लामाले आफू सकुशल रहेको बताएपछि मृतकले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेको खुलेको हो।

प्रहरीका अनुसार अर्जुनले यसअघि पनि विभिन्न घटनामा अन्य व्यक्तिको नाममा जारी भएका लाइसेन्स तथा कागजात प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालाजुमा बस दुर्घटना हुँदा तीन जना घाइते भएको घटनामा पनि उनले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ।

त्यस्तै, करिब तीन महिनाअघि मूलपानीमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत उनले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।

अर्जुनले अन्य व्यक्तिका कागजात किन र कसरी प्रयोग गर्दै आएका थिए भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Post