दसैँको मुखमा बाढीपीडितको आवास अझै अनिश्चित

दसैँको मुखमा बाढीपीडितको आवास अझै अनिश्चित
20

काठमाडौँ । हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँ–तिहार र छठ नजिकिँदै गर्दा बजारमा चाडपर्वको रौनक बढेको छ । तर, गत भदौ १० गतेको विनाशकारी बाढीमा घरबार र सर्वस्व गुमाएका हजारौँ परिवारका लागि यसपालिको चाडपर्व भने अझै अनिश्चित छ । बाढी गएको एक महिनाभन्दा बढी भइसक्दा पनि उनीहरू स्थायी आवासको पर्खाइमा छन् ।

सरकारी द्रुत क्षति तथा आवश्यकता आकलन अर्थात् आरडीएनए प्रतिवेदनअनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा गरी ७ हजार ५ सय ७० निजी घर क्षतिग्रस्त भएका छन् । नुवाकोटमा मात्रै ३ हजार ९ सय ७७, रसुवामा १ हजार ७ सय ७९ र धादिङमा १ हजार ४ सय ५१ घरमा क्षति पुगेको छ ।

यति ठूलो क्षतिपछि प्रश्न उठ्छ—घर गुमाएका परिवारलाई सरकारले अब कहाँ र कहिले बसाल्दैछ?

तत्कालका लागि सरकारले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ घरभाडा दिने व्यवस्था गरेको छ । चारभन्दा बढी सदस्य भएका परिवारका लागि प्रत्येक थप सदस्यबापत २ हजार रुपैयाँ थप दिने व्यवस्था छ ।

तर, घरभाडाले तत्कालको बासको व्यवस्था गरे पनि यसले स्थायी समाधान दिन्छ कि दिँदैन भन्ने प्रश्न बाँकी छ । किनकि प्रभावित परिवारको यकिन विवरण नै संकलन भइरहेको छ । कुन परिवार आफ्नै सुरक्षित जग्गामा फर्कन सक्छन् र कुन परिवारलाई स्थानान्तरण गर्नुपर्छ भन्ने टुंगोसमेत लागिसकेको छैन ।

सरकारले भने जोखिमयुक्त बस्तीलाई पुरानै ठाउँमा पुनर्निर्माण नगरी सुरक्षित स्थानमा ‘टाउनसिप’ मोडलमा एकीकृत बस्ती विकास गर्ने योजना अघि सारेको छ । त्यस्ता बस्तीमा आवाससँगै विद्यालय, अस्पताल, उद्योग र रोजगारीका अवसरसमेत उपलब्ध गराउने सरकारको दाबी छ ।

तर, टाउनसिप कहाँ बन्ने, कति परिवारलाई सारिने र कहिलेसम्म घर तयार हुने? यी प्रश्नको स्पष्ट जवाफ अझै सार्वजनिक भएको छैन ।

यसका लागि सुरक्षित जग्गा पहिचान गर्ने काम अघि बढाइएको छ । आफ्नै सुरक्षित जग्गा भएका परिवारलाई त्यहीँ घर बनाउन सहयोग गर्ने र जग्गा नै जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको योजना छ ।

उता, बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक सरकारी आकलन छ ।

अर्थात्, अहिले सरकारसँग राहतको व्यवस्था छ, पुनर्वासको योजना छ, तर कार्यान्वयनको स्पष्ट योजना र समयसीमा भने अझै प्रतीक्षामै छ ।

दसैँको रौनक सुरु भइसक्दा घर गुमाएका परिवारका लागि अर्को प्रश्न पनि उस्तै गम्भीर छ—१५ हजार रुपैयाँको घरभाडाले कति समयसम्म धान्ला, र स्थायी घर कहिले बन्ला?