यात्रुवाहक फोर्स माइक्रो सडकबाट ४०० मिटर तल कर्णाली नदीमा खस्यो

02 July, 2026 141 Views
यात्रुवाहक फोर्स माइक्रो सडकबाट ४०० मिटर तल कर्णाली नदीमा खस्यो
141
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरा क्षेत्रमा एउटा यात्रुवाहक फोर्स माइक्रो गाडी दुर्घटना भई कर्णाली नदीमा खसेको छ। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको उक्त माइक्रो गाडी बिहीबार बिहान करिब ११:३० बजे अनियन्त्रित भई सडकबाट झन्डै ४०० मिटर तल खसेर नदीमा डुबेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेख का प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार दुर्घटनालगत्तै प्रहरी चौकी पाल्तडा र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटिएको छ। उद्धार टोलीले घटनास्थलबाट हालसम्म नाम र पहिचान नखुलेका एक जना पुरुष (वृद्ध) लाई अचेत अवस्थामा सकुशल उद्धार गरी सडकतर्फ ल्याएको छ।
प्रारम्भिक विवरण अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी चालक रहेको उक्त गाडीमा चालकसहित कम्तीमा ५ जना सवार रहेको अनुमान गरिएको छ। गाडी पूर्ण रूपमा कर्णाली नदीभित्र डुबेका कारण पानीको तीव्र बहावका बीच खोजी तथा उद्धार कार्य निकै कठिन भइरहेको प्रहरीले जनाएको छ। 
नदीको अर्कोातर्फ (अछाम खण्ड) रहेका स्थानीय बासिन्दाहरूले गाडी नदीमा खसिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। इन्स्पेक्टर ऋषिकेश गौतम का अनुसार दुर्घटनाको वास्तविक कारण, गाडीमा सवार यात्रुहरूको यकिन सङ्ख्या र अन्य मानवीय क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ भने बेपत्ताहरूको खोजीका लागि स्थानीयवासी र सुरक्षाकर्मीहरूले तीव्र रूपमा प्रयास गरिरहेका छन्।

Related Post