94
काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट विशेष परिस्थितिअन्तर्गत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।
गृह प्रशासन र पीडित पक्षबिच भएको वार्ता र सहमतिबमोजिम गृहमन्त्री सुधन गुरुङले एकमायालाई नागरिकता र विवाह दर्ताको प्रमाणपत्र संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेलका अनुसार उनीहरूको ४ वर्षअघि विवाह भए पनि नागरिकता र विवाह दर्ता नभएका कारण राहत तथा बैंक खाता सञ्चालनमा कानुनी बाधा परेकाले मुगुको सोरु गाउँपालिका–१ का वडा अध्यक्षबाट द्रुत मार्गमार्फत अनुसूची सिफारिस र पत्र झिकाएर काठमाडौँबाटै नागरिकता प्रदान गरिएको छ ।
यो नागरिकता प्राप्ति सरकार, काठमाडौँ महानगरपालिका र मृतकका परिवारबिच आइतबार सार्वजनिक भएको ९ बुँदे सहमतिको एक महत्त्वपूर्ण हिस्सा हो, जसले पीडित परिवारलाई सरकारी राहत दिलाउने बाटो खुला गरेको छ।
सहमतिअनुसार काठमाडौँ महानगरपालिकाले एकमाया नेपालीलाई उनको योग्यता र क्षमताका आधारमा स्थायी रोजगारी सुनिश्चित गर्ने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने र काजक्रिया खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
गत बिहीबार राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा 'ह्विल लक' गरेपछि भएको विवादमा २५ वर्षीय गणेशले आफैँमाथि पेट्रोल खन्याएर आत्मदाह गरेका थिए, जसको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा ७ दिने उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको छ।