काठमाडौँ । नेपाली फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक ट्रेलरमा सन्तानको भविष्यका लागि जीवनभर त्याग र संघर्ष गर्ने बुवाको कथा प्रस्तुत गरिएको छ।
घरसमेत धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवा र उनको योगदानलाई बेवास्ता गर्ने छोराहरूबीचको सम्बन्धलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ। फिल्मले परिवार, सन्तानप्रतिको अभिभावकको समर्पण र पुस्ताबीचको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने देखिन्छ।
असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको लेखन तथा निर्देशन हरि लम्सालले गरेका हुन्। फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता र कृष्ण काफ्ले सह–निर्माता छन्। शिवराम श्रेष्ठले छायांकन गरेको फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय हरि लम्सालले ‘बा : एक योद्धा’मार्फत फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन्।