बाबुराम भट्टराईको चरित्रहत्या गर्ने प्रयास भन्दै सचिवालयको आपत्ति, कारबाहीको माग

24 August, 2026 58 Views
बाबुराम भट्टराईको चरित्रहत्या गर्ने प्रयास भन्दै सचिवालयको आपत्ति, कारबाहीको माग
58

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दुविरोधी’का रूपमा चित्रित गर्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार भइरहेको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।

सचिवालयले पुराना अभिव्यक्ति तथा भिडियोहरूलाई सन्दर्भबाट अलग गरी प्रस्तुत गर्ने, भ्रामक तस्बिर तथा पोस्टर तयार पारेर सामाजिक सञ्जालमा प्रसार गर्ने र त्यसमार्फत धार्मिक द्वेष फैलाउने प्रयास भइरहेको जनाएको हो।

सचिवालयका अनुसार धर्मनिरपेक्षताको अर्थ कुनै धर्मको विरोध गर्नु नभई राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा प्रत्येक नागरिकलाई आफ्नो धार्मिक आस्था स्वतन्त्र रूपमा अभ्यास गर्ने अधिकार सुनिश्चित गर्नु हो।

विज्ञानप्रतिको विश्वास, वैज्ञानिक सोच वा नास्तिकता व्यक्तिको व्यक्तिगत वैचारिक स्वतन्त्रताको विषय भएको उल्लेख गर्दै सचिवालयले त्यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा व्याख्या गर्नु गलत भएको स्पष्ट पारेको छ।

हिन्दु धर्मभित्र रहेको जातव्यवस्था, जातीय विभेद तथा सामाजिक असमानताबारे हुने बहसलाई पूर्वाग्रहपूर्ण ढङ्गले प्रचार गर्नु दुर्भाग्यपूर्ण भएको सचिवालयको भनाइ छ। कुनै पनि धर्म, संस्कृति वा परम्परामा रहेका सामाजिक अभ्यासमाथि प्रश्न उठाउनु, आलोचनात्मक बहस गर्नु र सुधारको माग राख्नु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया भएको उसले जनाएको छ।

डा. भट्टराईका विचार तथा अभिव्यक्तिलाई मूल सन्दर्भबाट अलग गरेर पुराना सामग्रीलाई तोडमरोड गरी गलत अर्थमा प्रस्तुत गर्नु गैरजिम्मेवार कार्य भएको सचिवालयले जनाएको छ। धम्कीपूर्ण सामग्री प्रकाशन तथा भ्रामक धारणा फैलाउने गतिविधिप्रति समेत उसले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

यस्ता गतिविधिले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सचिवालयले नागरिकलाई सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीप्रति सचेत रहन आग्रह गरेको छ।

साथै, धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने उद्देश्यले गलत सूचना फैलाउने व्यक्ति तथा समूहका सामाजिक सञ्जाल गतिविधिमाथि निगरानी बढाई आवश्यक अनुसन्धान गर्न र प्रचलित कानुनअनुसार कारबाही गर्न सरकारसँग सचिवालयले आग्रह गरेको छ।

Related Post