भोटो देखाएसँगै शनिबार सम्पन्न हुँदै रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा

19 June, 2026 215 Views
भोटो देखाएसँगै शनिबार सम्पन्न हुँदै रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा
215

 करिब १ हजार ६०० वर्ष पुरानो नेपालको सबैभन्दा लामो तथा ऐतिहासिक सांस्कृतिक–धार्मिक पर्व रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार भोटो देखाउने जात्रासँगै औपचारिक रूपमा सम्पन्न हुने भएको छ।

जावलाखेलस्थित ललित मण्डपमा आयोजना हुने भोटो जात्राको तयारी अन्तिम चरणमा पुगेको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन्। उनका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने जात्रा आयोजना गरिन्छ।

संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। राजतन्त्रकालमा भोटो जात्रामा राजाको उपस्थितिको परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन्।

भोटो देखाउने कार्यक्रम सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको छ।

वडाध्यक्ष खड्काले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा व्यवस्थामा सहयोग गर्न आग्रह गरेका छन्। साथै, जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेका छन्।

Related Post