डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

15 September, 2026 274 Views
डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने
274

काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अर्थात् एनपीएलमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्।

काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। ३९ वर्षीय वार्नर एनपीएल खेल्ने अहिलेसम्मकै चर्चित विदेशी खेलाडीमध्ये एक हुन्।

वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्टमा ८ हजार ७ सय ८६, १६१ ओडीआईमा ६ हजार ९ सय ३२ र ११० टी–२० अन्तर्राष्ट्रियमा ३ हजार २ सय ७७ रन बनाएका छन्। उनको नाममा टेस्टमा २६, ओडीआईमा २२ र टी–२० अन्तर्राष्ट्रियमा एक गरी कुल ४९ अन्तर्राष्ट्रिय शतक छन्।

फ्रेन्चाइज क्रिकेटमा पनि वार्नरको प्रभावशाली रेकर्ड छ। उनले आईपीएलमा १८४ खेलबाट ६ हजार ५ सय ६५ रन बनाएका छन्।

वार्नरले अस्ट्रेलियाका लागि २०१५ र २०२३ को ओडीआई विश्वकप, २०२१ को टी–२० विश्वकप तथा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि पनि वार्नर विभिन्न फ्रेन्चाइज टी–२० प्रतियोगितामा सक्रिय छन्। अब उनको एनपीएल आगमनले नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्टारको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ।

Related Post