काठमाडौं । बारामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका मुख्य आरोपी भनिएका नाबालकको प्रहरी उपस्थितिमै गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना थप चर्चामा आएको छ। भिडियोमा नाबालकले घटनामा आफू मात्रै नभई सिमराका प्रदीप खड्का पनि संलग्न रहेको दाबी गरेका छन्। यसअघि प्रहरीले घटनाको अनुसन्धानका क्रममा प्रदीप खड्कासहित ९ जनालाई पक्राउ गरेको जनाएको थियो।
गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका–१ मा मृत अवस्थामा फेला परेकी थिइन्। उनी घरबाट हराएको तीन दिनपछि मृत भेटिएकी थिइन्। प्रहरीको अनुसन्धानले गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा हातमा हत्कडी लगाइएका नाबालकसँग घटनाबारे सोधपुछ गरिएको देखिन्छ। उनले आफूलाई प्रदीप खड्काले उक्साएको र चकलेटको प्रलोभन देखाएर बालिकालाई एक घरमा लगिएको दाबी गरेका छन्। त्यसपछि घटनामा दुई जना संलग्न भएको र बालिका बेहोस भएपछि आफूले उनलाई त्यहीँ छाडेर गएको उनको भनाइ छ।
भिडियोमा देखिएको सोधपुछ प्रहरीको औपचारिक बयान हो कि अनौपचारिक सोधपुछ, भन्ने विषयमा भने प्रश्न उठेको छ। उच्च प्रहरी स्रोतका अनुसार भिडियो वास्तविक रहेको बताइएको छ। नाबालकलाई पक्राउपछि कलैया अस्पताल लगिएको र त्यहाँ स्वास्थ्यकर्मीले मानसिक अवस्थाबारे बुझ्ने क्रममा भिडियो खिचिएको स्रोतको दाबी छ। भिडियोमा प्रहरी कर्मचारीसमेत देखिन्छन्।
भिडियो सार्वजनिक भएपछि प्रहरीको उपस्थितिमा नाबालकसँग यसरी सोधपुछ र भिडियो खिच्न मिल्छ कि मिल्दैन भन्ने विषयमा पनि प्रश्न उठेको छ। प्रहरी प्रधान कार्यालयले घटनाबारे चासो देखाउँदै भिडियो कसरी सार्वजनिक भयो र त्यसमा संलग्न व्यक्तिबारे आन्तरिक छानबिन थालेको बताइएको छ।
यसअघि प्रहरीले घटनामा प्रदीप खड्काको नाम सार्वजनिक गरेको थिएन। प्रहरीले पक्राउ परेका व्यक्तिमध्ये दोस्रो व्यक्ति प्रोग्रेस चौधरी रहेको जनाएको थियो। अहिले नाबालकले भिडियोमार्फत प्रदीपको नाम लिएपछि उनको भूमिका र भिडियोमा गरिएको दाबीबारे थप अनुसन्धानको विषय बनेको छ।
प्रहरीले भने भिडियोमा गरिएको दाबीलाई मात्रै आधार मानेर निष्कर्ष निकाल्न नमिल्ने भन्दै घटनाको तथ्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।