ममता काफ्ले प्रकरण: नरेश भट्टको घरबाट बरामद आरामा भेटियो मानव कपाल, डीएनए परीक्षण गरिँदै

10 June, 2026 183 Views
ममता काफ्ले प्रकरण: नरेश भट्टको घरबाट बरामद आरामा भेटियो मानव कपाल, डीएनए परीक्षण गरिँदै
183

अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट सन् २०२४ को अगस्ट महिनामा बेपत्ता भएकी २८ वर्षीया नेपाली नर्स ममता काफ्ले भट्टको खोजी कार्य र अनुसन्धानमा नयाँ फरेन्सिक (न्यायवैज्ञानिक) प्रमाण फेला परेको छ । अदालतमा दर्ता भएका नयाँ कागजात र फरेन्सिक प्रतिवेदन अनुसार अनुसन्धानकर्ताहरूले अभियुक्त श्रीमान् नरेश भट्टको घरबाट बरामद गरेको एउटा विद्युतीय हाते आरा (रेसिप्रोकेटिङ स) मा मानव कपाल र रौँका टुक्राहरू फेला पारेका हुन् । 

 

भर्जिनियाको न्यायवैज्ञानिक विभाग (Department of Forensic Science) द्वारा जारी गरिएको प्रतिवेदन अनुसार उक्त आराको सुक्ष्म परीक्षण गर्दा ३ वटा मानव कपाल जुन नाभिकीय डीएनए परीक्षणका लागि उपयुक्त छन्, १३ वटा मानव कपालका टुक्राहरू जुन डीएनए परीक्षणका लागि पर्याप्त वा गुणस्तरीय छैनन् र अन्य संकास्पद रेशा र फोहोरका कणहरू जस्ता जैविक अवशेषहरू फेला परेका छन्।

फरेन्सिक विज्ञहरूका अनुसार फेला परेका ३ वटा मुख्य कपालहरूलाई विस्तृत डीएनए प्रोफाइल तयार गर्न र उक्त कपाल ममता काफ्लेकै हो या होइन भनी पुष्टि गर्न राज्यको केन्द्रीय 'फरेन्सिक बायोलोजी शाखामा पठाइएको छ । यसअघि सोही आरामा ममता काफ्लेको डीएनए प्रोफाइलसँग मिल्दोजुल्दो रगतका दागहरू समेत फेला परिसकेका थिए । 

ममता काफ्ले भट्ट सन् २०२४ को अगस्टदेखि बेपत्ता छिन् र अभियोजकहरूका अनुसार उनको घरकै बेडरूममा हत्या गरिएको दाबी गरिएको छ । यो घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान् नरेश भट्टलाई सन् २०२४ को अगस्टमै सुरुमा शव लुकाएको अभियोगमा पक्राउ गरिएको थियोजसलाई पछि 'फर्स्ट-डिग्री मर्डर' (हत्या) र शव क्षतविक्षत पारेको अभियोगमा स्तरोन्नति गरियो । 

प्रहरीले नरेश भट्टले वालमार्टबाट चक्कु र होम डिपोबाट सरसफाइका सामाग्रीहरू किनेको तथा मध्यरातमा भर्जिनियाका विभिन्न क्षेत्रका डम्पस्टर (फोहोर फाल्ने ठाउँ) मा प्लास्टिकका झोलाहरू फाल्दै गरेको सीसीटीभी फुटेज समेत संकलन गरिसकेको छ । यद्यपिममताको शव भने अझैसम्म फेला पर्न सकेको छैन । 

प्रमाणहरूको विशाल परिमाण र डिजिटल डेटाको विश्लेषणका कारण यसअघि धेरै पटक सर्दै आएको नरेश भट्टको मुख्य मुद्दाको ट्रायल आगामी अक्टोबर २०२६ का लागि तय गरिएको छ । कानूनी विज्ञहरूका अनुसार यदि यो नयाँ कपालको डीएनए परीक्षण रिपोर्ट ममता काफ्लेसँग मिल्यो भने यो नरेश भट्टको प्रतिरक्षा टोली का लागि निकै घातक र ठूलो धक्का सावित हुनेछ । 

Related Post