सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ

सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ
64

अष्ट्रेलियाको सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ। घटनामा २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारीविरुद्ध लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा मुद्दा चलाइएको छ।

पश्चिमी सिड्नीको अर्बनस्थित नर्मनबी रोडमा मंगलबार दिउँसो करिब २ बजे ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनलाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो। तर, केही घण्टापछि उपचारका क्रममा उनको मृत्यु भयो।

घटनापछि प्रहरीले अधिकारीलाई पक्राउ गरेको थियो। अनिवार्य परीक्षणका लागि उनलाई अस्पताल लगिएपछि प्रहरी स्टेसन पुर्‍याइएको थियो। दुर्घटनामा अधिकारी भने घाइते भएका थिएनन्।

घटनाको २४ घण्टा नबित्दै अधिकारी बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए। उनले आफूमाथि लागेको आरोप स्वीकार वा अस्वीकार गरेको प्रतिक्रिया दिएका छैनन्।

अदालतबाट बाहिरिने क्रममा अधिकारीले कागजले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए। उनका वकिल ड्यानी इडले घटना अत्यन्तै दुःखद भएको बताउँदै अधिकारी घटनापछि तनावमा रहेको र बालिकाको परिवारको अवस्थाप्रति चिन्तित रहेको बताएका छन्।

अधिकारी अहिले जमानतमा छन्। उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ।

मुद्दा अदालतमा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप पुष्टि भइसकेको छैन।

Related Post