देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

26 August, 2026 64 Views
देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
64

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ।

हाल हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली देखिएको छ। अन्य तराई भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश पहाडी क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। मधेससहित विभिन्न प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश पहाडी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मध्यम वर्षा हुनसक्नेछ। तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ।

Related Post