विवादास्पद अभिव्यक्तिपछि इलाका प्रहरी कार्यालय सुखडका डीएसपी चौधरी जिल्ला तानिए

09 July, 2026 102 Views
विवादास्पद अभिव्यक्तिपछि इलाका प्रहरी कार्यालय सुखडका डीएसपी चौधरी जिल्ला तानिए
102
सार्वजनिक कार्यक्रममा राजनीतिक नेतृत्व र प्रहरी संगठनको मर्यादाविपरीत विवादास्पद अभिव्यक्ति दिएपछि कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय तानिएको छ। 
घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले आफूहरू 'बालेनको पुलिस' नभएको र आवश्यक परे 'केपी ओलीलाई पनि थुन्ने' नेपाल प्रहरी भएको भन्दै आक्रामक भाषण गरेका थिए।
 कार्यक्रममा आफ्नो भनाइको भिडियो सार्वजनिक नगर्न उनले आग्रह गरे पनि उक्त भाषणको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दले उनलाई सोधपुछका लागि जिल्ला बोलाएका हुन्।
उच्च प्रहरी स्रोतका अनुसार डीएसपी चौधरीलाई यो पछिल्लो अभिव्यक्तिबारे स्पष्टीकरण सोधिनुका साथै उनको कार्यशैली र अनुशासनलाई लिएर समेत अनुसन्धान भइरहेको छ।
कार्यक्रममा उनले आफू लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट छानिएर आएको दाबी गर्दै राजनीतिक पहुँच वा 'दारु–भात खाएर' नआएको र यो बर्दी राष्ट्रपतिले समेत लगाउन नपाउने जस्ता गम्भीर टिप्पणी गरेका थिए।
 संगठनको व्यावसायिक मर्यादा र आचरण उल्लंघन भएको सम्बन्धमा उनीमाथि सूक्ष्म रूपमा विभागीय छानबिन अघि बढाइएको छ।

Related Post