भाटभटेनीको भक्तपुर स्टोर भोलिदेखि २४ घण्टा खुल्ने

16 August, 2026 223 Views
भाटभटेनीको भक्तपुर स्टोर भोलिदेखि २४ घण्टा खुल्ने
223

काठमाडौं । भाटभटेनी सुपरमार्केटको भक्तपुर स्टोर भोलि भदौ १ गतेदेखि २४ घण्टा खुल्ने भएको छ। भाटभटेनीले आफ्ना स्टोरलाई अन्तर्राष्ट्रिय मोडलमा चौबीसै घण्टा सञ्चालन गर्ने योजनाअनुसार भक्तपुरबाट यसको सुरुवात गर्न लागेको हो।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार बुधबार रातिदेखि भक्तपुर स्टोरमा २४ घण्टा सञ्चालनको परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि भोलिदेखि औपचारिक रूपमा स्टोर चौबीसै घण्टा खुला राख्ने निर्णय गरिएको हो।

अहिलेसम्म भक्तपुर स्टोर बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको थियो। अब रातिको समयमा सामान मिलाउने, थप्ने तथा अन्य व्यवस्थापकीय काम पूरा गरेर ग्राहकलाई सहज सेवा दिने भाटभटेनीको योजना छ।

राति काम गर्ने कर्मचारीलाई नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम दिइनेछ। उनीहरूका लागि राति चिया तथा खाजाको समेत व्यवस्था गरिएको गुरुङले बताए।

भक्तपुरमा सुरु गरिएको २४ घण्टे सेवा सफल भएमा देशभरका अन्य भाटभटेनी स्टोरमा पनि विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

भाटभटेनी नेपालकै ठूलो चेन स्टोरका रूपमा रहेको छ। गत वर्षको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ भन्दा बढी स्टोरमा आगजनी भएको थियो। तीमध्ये अधिकांश स्टोर अहिले पुनः सञ्चालनमा आइसकेका छन्।

Related Post