चिया उद्योग संकटमा पर्दा सरकार किन मौन? सांसद राईको प्रश्न

17 June, 2026 214 Views
चिया उद्योग संकटमा पर्दा सरकार किन मौन? सांसद राईको प्रश्न
214

काठमाडौं, असार ३ — नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र किसानहरू गम्भीर संकटमा पर्दा पनि सरकार मौन रहेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले छिमेकी भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको र त्यसको प्रत्यक्ष असर उद्योग तथा किसानमाथि परेको बताए।

उनका अनुसार भारतीय चिया बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (SOP)’ लागू गरेपछि नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको छ। परीक्षण प्रतिवेदन आउन लामो समय लाग्ने, रिपोर्ट नआएसम्म चिया बिक्री गर्न नपाइने तथा सामान्य समस्या देखिए पनि उत्पादन नष्ट गर्नुपर्ने जस्ता कडा नियमका कारण किसान र उद्योगीहरू मारमा परेका छन्।

राईले यस्ता अवरोधका कारण चिया फ्याक्ट्रीहरू करिब तीन दिनदेखि बन्द रहेको उल्लेख गर्दै सरकारको बेवास्ताप्रति असन्तुष्टि जनाए।

वार्षिक तीन करोड किलोभन्दा बढी चिया निर्यात हुने यो क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि सरकार गम्भीर नदेखिएको उनको आरोप थियो।

उनले तत्काल कूटनीतिक र नीतिगत पहल गरी चिया उद्योग र किसानको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।

Related Post