117
गोरखा जिल्लामा विगत दुई महिनायता फैलिएको घातक 'अफ्रिकन स्वाइन फिबर' को सङ्क्रमणका कारण हालसम्म २५० भन्दा बढी सुँगुर र बङ्गुर मरेका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार यो प्रकोप विशेष गरी गोरखा नगरपालिकाका वडा नम्बर ६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का व्यावसायिक फार्महरूमा तीव्र रूपमा फैलिएको छ।
विज्ञ केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका–६ को मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा, जुना रेग्मीको फार्मका १० वटा र मान्द्रेढुङ्गाका किसान धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर संक्रमण पुष्टि भएको छोटो अवधिमै मरेका छन्। फार्ममै भटाभट बङ्गुरहरू मर्न थालेपछि गरिएको र्यापिड टेस्ट र पशुरोग अन्वेषण प्रयोगशालाको परीक्षणबाट अफ्रिकन स्वाइन फिबरको पुष्टि भएको हो, जसका कारण लाखौँको लगानी डुब्दा स्थानीय किसानहरू ठूलो मर्कामा परेका छन्।
जिल्ला पशु सेवा विज्ञ केन्द्रका अनुसार हालसम्म यस सरुवा रोगको कुनै ठोस उपचार वा खोप उपलब्ध नभएकाले संक्रमण सरेपछि सुँगुर–बङ्गुर मर्नु निश्चित जस्तै हुन्छ। बङ्गुर प्रजातिमा मात्र लाग्ने र मानिसमा नसर्ने यो भाइरस संक्रमित खोरमा जाने मानिसको लसपस, दानापानी, ओसारपसार र औषधिमार्फत सहजै फैलने गर्दछ।
संक्रमण देखिएपछि सुँगुर–बङ्गुरमा उच्च ज्वरो आउने, खाना खान छाड्ने र शरीरमा निलडाम देखिने जस्ता लक्षण देखा पर्छन्। कार्यालय प्रमुख कोइरालाले थप संक्रमण फैलिन नदिन किसानहरूलाई जैविक सुरक्षाका उपायहरू अपनाउन, संक्रमित खोरहरूलाई निसङ्क्रमण (स्प्रे) गर्न र मरेका बङ्गुरहरूलाई सावधानीपूर्वक गहिरो खाल्डो खनेर गाड्न कडा आग्रह गरेका छन्। केही बङ्गुर फार्महरू दर्ता नभएका कारण क्षति र मृत्युको वास्तविक तथ्याङ्क योभन्दा अझ बढी हुन सक्ने अनुमान प्राविधिकहरूको छ।