135
काठमाडौँ । काठमाडौँका विभिन्न खोलाकिनारबाट विस्थापित गराई उचित विकल्प बिना नै अलपत्र पारिएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले आइतबार राजधानीको माइतीघर मण्डलामा सरकारविरुद्ध सशक्त विरोध प्रदर्शन गरेको छ।
विशेषगरी शनिबार मध्यरातमा कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी पसेर त्यहाँ आश्रय लिइरहेका सुकुम्वासी परिवारहरूको बिचल्ली भएपछि र सोही साँझ उनीहरूको अवस्था बुझ्न पुगेका जेनजी (Gen Z) अभियन्ताहरूलाई प्रहरीले गैरन्यायिक ढंगले नियन्त्रणमा लिएपछि सुकुम्वासीहरू थप आन्दोलित बनेका हुन्।
सरकारले सुकुम्वासीहरूको दिगो व्यवस्थापन गर्नुको साटो महिनौँदेखि होल्डिङ सेन्टरमा राखेर झन् ठुलो भोकमरी र डुबानको जोखिममा धकेलेको भन्दै मोर्चाले राज्यको गैरजिम्मेवार र संवेदनाहीन चरित्रको कडा आलोचना गरेको छ।
प्रदर्शनमा सहभागी सुकुम्वासीहरूले 'सुकुम्वासी यहाँ छ, रवि–वालेन कहाँ छ ?', 'सरकार मालपानीको गाडीमा, सुकुम्वासी सारा बाढीमा', र 'जनताको आवाज दबाउन पाइँदैन' जस्ता कडा आक्रोशयुक्त नाराहरू अंकित प्लेकार्ड बोकेका थिए।
मोर्चाले वैकल्पिक र स्थायी बसोबासको ग्यारेन्टी नगरी नागरिकलाई घरबाँसविहीन बनाउनु मानवअधिकारको चरम उल्लंघन भएको ठहर गर्दै, कीर्तिपुर घटनामा पक्राउ परेका माजिद अन्सारीलगायतका सम्पूर्ण अभियन्ताहरूलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ।