देशभर डेंगु संक्रमण तीव्र, ६ महिनामा १ हजार ४२ जनामा पुष्टि, २ को मृत्यु

02 July, 2026 143 Views
देशभर डेंगु संक्रमण तीव्र, ६ महिनामा १ हजार ४२ जनामा पुष्टि, २ को मृत्यु
143
नेपालमा मनसुनको सुरुवातसँगै डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार, गत पुस १७ गतेदेखि हालसम्म देशका ७१ जिल्लामा १ हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। यस ६ महिनाको अवधिमा संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ।
प्रादेशिक विवरण अनुसार सबैभन्दा बढी प्रभावित कोशी प्रदेशमा २९२ जना र बागमती प्रदेशमा २६४ जना संक्रमित फेला परेका छन्। यस्तै, लुम्बिनीमा १६७, गण्डकीमा १६१, सुदूरपश्चिममा ६९, मधेसमा ५२ र कर्णाली प्रदेशमा ३७ जनामा संक्रमण देखिएको छ भने जिल्लागत रूपमा झापा (१३८ केस) सबैभन्दा बढी प्रभावित बनेको छ।
डेंगुको प्रकोप देशव्यापी रूपमा जनस्वास्थ्यको गम्भीर चुनौती बन्दै गएपछि सरकारले यसको रोकथाम र नियन्त्रणका लागि विशेष अग्रसरता देखाएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि डेंगु नियन्त्रण गर्न ३० करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
महाशाखाका अनुसार यस बजेटमध्ये स्थानीय तहहरूमा लामखुट्टेको लार्भा नष्ट गर्न सञ्चालन गरिने 'खोज र नष्ट गर' (Search and Destroy) अभियानका लागि मात्रै ३ करोड ५० लाख रुपैयाँ विशेष रूपमा छुट्ट्याइएको छ। स्वास्थ्य विज्ञहरूले डेंगु फैलाउने एडिस जातको लामखुट्टेको प्रजनन रोक्न आफ्नो घर र कार्यस्थल वरिपरि पानी जम्न नदिन तथा सचेतना अपनाउन नागरिकहरूमा अपिल गरेका छन्।

Related Post