120
देशका प्रमुख ठूला नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्लाका ससाना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आगामी तीन दिनसम्म देशका ३४ भन्दा बढी जिल्लाका साना नदी र खोल्साखोल्सीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता ठूला नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि लगातारको मनसुनी वर्षाका कारण साना खोलाहरूमा 'फ्ल्यास फ्लड' (आकस्मिक बाढी) आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश साना नदीहरूका साथै झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सिन्धुपाल्चोक, काठमाडौँ, रुपन्देही, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरूमा बाढीको बढी जोखिम औंल्याइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले भारी वर्षासँगै पहिरो, कटान र डुबानको खतरा बढ्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा यात्रा नगर्न र नदी किनारका बस्तीहरूलाई सुरक्षित स्थानमा सर्न अपिल गरेको छ। साथै, आकस्मिक उद्धारका लागि तीनै तहका सरकार, सुरक्षा निकाय र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन तथा जोखिमयुक्त राजमार्गहरूमा आवश्यक उपकरणहरू तैनाथ राख्न निर्देशन दिइएको छ।