वर्षा नहुँदा बाँकेका खेतहरू सुक्खा र धुलाम्मे: असारको मध्यसम्म मात्र १३.५ प्रतिशत रोपाइँ, किसान चिन्तित

30 June, 2026 174 Views
वर्षा नहुँदा बाँकेका खेतहरू सुक्खा र धुलाम्मे: असारको मध्यसम्म मात्र १३.५ प्रतिशत रोपाइँ, किसान चिन्तित
174
यस वर्ष असारको मध्य बितिसक्दा समेत पर्याप्त मनसुनी वर्षा नहुँदा पश्चिम नेपालकै प्रमुख धान उत्पादक जिल्ला बाँकेका अधिकांश खेतीयोग्य खेतहरू सुक्खा र धुलाम्मे बनेका छन्। राष्ट्रिय धान दिवस (असार १५) मनाइरहँदा समेत आकाशे पानी नपरेका कारण जिल्लाका अधिकांश क्षेत्रमा धान रोपाइँ प्रायः ठप्प छ भने कतिपय स्थानमा किसानले राखेका धानको बीउ (ब्याड) समेत पानी बिना चिरा परेर सुक्न थालेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाभर धान खेती हुने कुल ३६ हजार हेक्टर क्षेत्रफलमध्ये हालसम्म मात्र १३.५ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न हुन सकेको छ। नेपालगञ्ज उपमहानगरपालिका लगायत डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका दक्षिणी भेगमा सिँचाइको वैकल्पिक व्यवस्था नहुँदा अधिकांश खेतहरू बाँझै रहेका छन् र किसानहरू आकाशे पानीको पर्खाइमा दिन बिताउन बाध्य छन्।
यद्यपि, बाँकेका केही क्षेत्रमा भने सिक्टा सिँचाइ आयोजनाको मूल तथा शाखा नहर र डिपबोरिङको सुविधा भएका कारण सिँचाइ सहज हुँदा रोपाइँले केही गति लिएको छ। सिक्टाको पानी उपलब्ध भएका राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिकाका केही उत्तरी क्षेत्रमा किसानहरूले जसोतसो रोपाइँ गरिरहेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेका अनुसार ढिलो गरी मनसुन सक्रिय भई केही स्थानमा छिटफुट वर्षा सुरु हुन थालेकाले किसानहरू पूर्ण रूपमा आत्तिनुपर्ने अवस्था भने छैन। 
कृषि प्राविधिकहरूका अनुसार बाँकेमा भदौको पहिलो सातासम्म पनि धान रोपाइँ गर्न मिल्ने हुनाले आगामी दिनमा पर्याप्त वर्षा भएमा उत्पादनमा ठूलो ह्रास नआउने आशा गरिएको छ, तर खडेरी लम्बिएमा भने यस वर्ष जिल्लाको समग्र धान उत्पादनमा गम्भीर असर पर्ने देखिन्छ।

Related Post